पहिलो खेलमा पाकिस्तानसँग स्पष्ट जितको खोजीमा नेपाल

| 2018 Sep 04 | 08:52 am 1730

बंगलादेश, भदौ १८: साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा आज (मंगलबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो सुखद् शुरुवात गर्ने लक्ष्यमा छ। तर, पाकिस्तानलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन किनभने नेपाल इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यु-२३ फुटबलमा २–१ गोलअन्तरले पराजित भएको थियो।

पाकिस्तान लामो समय फिफाबाट प्रतिबन्धमा परेपछिको यो पहिलो र ठूलो प्रतियोगिता हो। पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो। जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो।

नेपालले पछिल्लोपटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलेको थियो। १–० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तीमगरले गोल गर्दै बराबरी दिलाएका थिए।

यसअघि सोमबार भएको प्री–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए। मुख्य प्रशिक्षक महर्जनले भने ‘हामी यहाँ उपाधि जित्न आएका हौं। हाम्रो पहिलो लक्ष्य भनेको सेमिफाइनल पुग्ने त्यसपछि उपाधिका लागि जित्ने नै हो।’

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन्। समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ। बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ।

नेपाली फुटबल टिम

गोलरक्षक- किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड – भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्‍जन विष्ट

नेपाल भर्सेस पाकिस्तान (हेड टु हेड )

सन् १९९३ जुलाई १६ : १ – १ को बराबरी

सन् १९९५ मार्च २९ : नेपाल २ – ० ले नेपाल र पाकिस्तानद्वारा विजयी

सन् १९९७ सेप्टेम्बर ४ : नेपाल २ – ० ले पराजित

सन् २००८ जुन ७ : नेपाल ४ – १ ले विजयी

सन् २०११ डिसेम्बर ६ : नेपाल र पाकिस्तानद्वारा  १ – १ को बराबरी

सन् २०१३ सेप्टेम्बर ३ : नेपाल र पाकिस्तानद्वारा १ – १ को बराबरी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.