नेपाल प्रहरी एशियाकै उत्कृष्ट हुने आर्इजीपी खनालको दावी

रिपोर्ट नेपाल | 2018 Sep 03 | 07:54 pm 3028

वीरगञ्ज, भदौ ज्ञड : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने प्रतिबद्धता गरेका छन् । वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन समारोहमा बोल्दै आईजीपी खनालले उक्त कुरा बताएका हुन् ।

उनले नेपाल प्रहरी दक्षिण एशियाली स्तरमा उत्कृष्ट रहेको बताउँदै उनले अझै उत्कृष्ट बनाउने र अरु देशले अनुकरण गर्ने अवस्थामा पुर्‍याउने दावी गरे । अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा लगाउनसमेत उनले प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्ट हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा आम नागरिकको सहयोग र सहकार्यको आवश्यकता समेत औंल्याए । खनालले भने, ‘तीनै तहको सरकारसँग मिलेर शान्ति सुव्यवस्था कायम राख्न, जनताले अनुभूति गर्नेगरि न्याय सम्पादनमा सघाउन, समृद्ध मुलुक निर्माणमा प्रहरीसँगठन सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।’

जनताले शान्ति सुरक्षाको अनुभूति गरुन, न्याय पाउन प्रहरीकाे मुख्य प्राथमिकता भएकाे बताए । सोचेको जस्तो उपलब्धी नभएकाे उनले बताए । उनले भने, ‘आम जनताले प्रहरी प्रशासनको सेवा साह्रै राम्रो छ भन्ने अवस्थामा नआएसम्म राम्रो मान्न सकिन्न ।’

सबै स्थानीय तहसम्म प्रहरी युनिट पुर्‍याउने अभियानमा प्रहरी संगठन लागि परेको पनि उनले जानकारी दिए । ‘३३ वटा स्थानीय तहमा प्रहरी युनिट थिएन, त्यसमध्ये आधा भन्दा बढी स्थानीय तहमा युनिट स्थापना भईसकेको छ,’ महानिरीक्षक खनालले भने, ‘प्रहरी युनिट धेरै खडा गर्ने र धेरै प्रहरी भर्ना गरेर मात्रै पनि शान्ति सुव्यवस्था कायम हुने हैन । एकले अर्कोलाई सहयोग गरेर अघि बढ्नुपर्छ ।’

नयाँ मुलुकी संहिताले धेरै विषयहरुलाई अपराधको संज्ञा दिएकोले प्रहरी संगठन झनै जिम्मेवार भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.