निर्मला हत्या प्रकरण : ‘घटनाको निष्पक्ष छानविन हुनेमा आशंका’

| 2018 Sep 03 | 11:45 am 1798

काठमाडौं, भदौ १८: कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणका वास्तविक दोषी पहिचान गर्न ढिलाइ भएको भन्दै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलको ध्यनाकर्षण गराएको छ ।

निर्मला प्रकरणबारे काँग्रेस नेता दिलेन्द्रप्रसाद बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो।

जवाफमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले घटनाबारे सरकारले सूक्ष्म अध्ययन गरिरहेको भन्दै वास्तविक अपराधी पत्ता लगाएरै छोड्ने आश्वसन दिएका छन्। ‘प्रधानमन्त्री र प्रचण्ड दुवैको एउटै स्वर पाइयो, अपराधी पत्ता लाग्छ भन्ने नै उहाँहरूको भनाइ रह्यो । ‘सरकारले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन भन्नुभएको छ’ प्रधानमन्त्रीलाई आइतबार भेटेका नेता दिलेन्द्र बडु र रमेश लेखकले बताए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको सकारात्मक आश्वासन भए पनि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत चित्त बुझ्दो र तदारुकताका साथ काम नगरेको स्थानीयको बुझाइ रहेको नेता बडुले बताए ।

‘त्यहाँ जे देखियो, जनताको भावना जे सुनियो, त्यसैलाई आधार बनाएर काँग्रेसले प्रतिवेदन तयार पारेको छ। सो प्रतिवेदन सोमबारसम्ममा हामी पार्टीलाई बुझाउँछौँ ।’ ‘सरकारले पछिल्लो पटक गठन गरेको उच्चस्तरीय छानविन समितिले समेत राम्रोसँग काम नगरेको हो कि भन्ने त्यहाँका स्थानीयको आशङ्का र भनाइ छ।

उनीहरूले पर्याप्त अनुसन्धान गर्न गम्भीरतापूर्वक नलिएको हो कि भन्ने बुझेका छन्।

स्थानीयले सरकारले उच्चस्तरीय छानविन टोली गठन गरेपछि कञ्चनपुरका स्थानीय राजननीतिक दल, नागरिक समाज र पीडित परिवारले तोकिएको समयभित्र अपराधी पहिचान हुने आशामा १५ दिनका लागि आन्दोलन स्थगन गरेका थिए। उनीहरूले भदौ २६ सम्म वास्तविक अपराधी पहिचान नभए पुनः आन्दोलन गर्ने र त्यो आन्दोलन पहिलेको भन्दा थप कडा हुने बताएका छन् ।

यसैबीच भीमदत्तनगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले पनि छानबिन तीव्र बनाएको जनाएको छ ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कुलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ भने बम दिदी बहिनीलाई नियन्त्रणमा लिइसकेको छ।

यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयले आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा एकजनाको ज्यान गयो भने छ जना घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.