पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

रिपोर्ट नेपाल | 2018 Sep 03 | 08:33 am 2950

सल्यान, भदौ १८: अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् ।

बागचौर नगरपालिका-१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन्।

पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ।

बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए।

घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्न कठिनाइ भएको वडाध्यक्ष वलीले बताए । “पहिरो खस्नेक्रम अहिले पनि रोकिएको छैन”, उनले भने। पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

घटनास्थलमा सञ्चार सुविधा नभएकाले थप विवरण बुझन नसकिएको जानकारी बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले दिए । “घटना भएको सुन्नेबित्तिकै उद्धारका लागि म हिँडेको छु, विपद्को यस घडीमा उद्धार कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्दछु”, प्रमुख बुढाथोकीले भने।

घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वर्षा नरोकिएको र पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.