राँके बजारमा भएको आगलागीबाट दुई करोड बराबरको क्षति

रिपोर्ट नेपाल | 2018 Sep 03 | 08:24 am 2200

इलाम, भदौ १८: इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ।

देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल साथै तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ।

आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए। पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । राति भएको आगलागीबाट क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करीब दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलर नष्ट भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.