पार्टी बैठक अनिश्‍चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र नेताको ‘विवादित’ विदेश भ्रमण

| 2018 Sep 03 | 07:10 am 1528

काठमाडौं, भदौ १८: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला, जनसंगठन कमिटीको एकतामा देखिएको विवादका कारण पार्टीको बैठक अनिश्चित बनेको छ । बैठक बोलाउन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नै आलटाल गरिरहेका छन्।

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘विवादित’ देखिनुका साथै अध्यक्ष ओलीले पार्टी एकतामा पनि गुटलार्इ संरक्षण हुने गरी कार्यदललार्इ दबाब दिन थालेपछि समस्या उत्पन्‍न भएको जनाइएको छ। सो समस्या समाधानका लागि आन्तरिक गृहकार्यको अभाव भएपछि बैठक स्थिगित भएको जनाइएको छ।

यस अघि ८ र ९ भदौमा स्थायी कमिटीको बैठक बस्ने तय गरिए पनि बैठक बस्नु अघि मिति सारिएको थियो। लामो समयदेखि स्थगित बैठक १९ र २० भदौका लागि मिति निर्धारित गरिएको थियो। तर, यो मितिमा पनि बैठक नहुनेमा निश्‍चित भएको छ। त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा प्रस्तुत सबै एजेण्डामा छलफल नहुदै स्थगित भएको थियो । पार्टी एकता, सरकारका काम कारवाही लगायतका बिषयमा छलफल हुने एजेण्डा रहेको छ।

‘१९ र २० भदौका लागि बैठक बोलाईएको थियो तर बैठक स्थगित भएको खबर आयो’ स्थायी कमिटीकी सदस्य शाक्यले भनिन्, ‘अर्को बैठक कहिले हुन्छ त्यो सूचना दिईएको छैन् तर सम्भवत बैठक चाडै बोलाईन्छ ।’

३ जेठमा तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता घोषणा भयो। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले तीन महिना भित्रमा पार्टी एकताको सम्पुर्ण काम सकिने उदघोष गरेका थिए।

तल्लो कमिटीका साथै जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्यदलहरुले दिएको प्रतिबेदन भद्रगोल एवं विवादित देखिएपछि त्यसलाई समाधान गर्न समय चाहिन्छ। पछिल्लो समयमा बिम्स्टेक सम्मेलन लगायतका बिभिन्न कारण बैठक धकेल्दिै गएको नेताहरु बताउँछन्।

प्रदेश २ र प्रदेश १ बाहेकका प्रदेश कार्यदलको प्रतिबेदन पार्टी सचिवालयमा आईसकेको छ। उता जनवर्गीय संगठनहरुको कतिपय प्रतिबेदन अझै आएको छैन्। जुन प्रतिबेदन आएको छ त्यो भद्रगोल र विवादित रहेकाले त्यसलाई समाधान गर्न शिर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन्।

काठमाडौमा असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको छ भने गण्डकी प्रदेशले कार्यदलको सहमतिमै दुई वेग्लावेग्लै कमिटी सिफारिस गरेको छ ।

काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदलमा सिफरिस भयो । तर सो कमिटीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षतामा समानान्तर कमिटी सिफारिस गरेको छ । दुबै समुहले एक सय २५ सदस्सीय जिल्ला कमिटीको सिफारिस पार्टीमा गरेका छन्।

काठमाडौं, बाँके, अर्घाखाची, दाङ्ग, ललितपुर, भक्तपुर, रुपन्देही, मुगु, पाल्पा, रोल्पासहितका दर्जनौं जिल्लामा बिबाद देखिएको छ । असन्तुष्ट पक्षका नेताहरुले पार्टी शिर्ष नेतालाई भेटेर समस्या समाधानका लागि अनुरोध गर्दैछन्। शिर्ष नेताले सबैलाई न्याय दिने भन्दै आश्वासन दिएपनि बिवाद भने वढ्दो छ ।

यसका साथै शिर्ष नेताहरुको बिदेश भ्रमणले पनि बैठक बस्नमा समस्या देखिएको छ । शिर्ष नेताहरु नै बिदेश भ्रमणमा व्यस्त भएपछि पार्टी एकता लगायतका काम समेत प्रभावित भएको एक नेताले बताए।

नेकपाको ९ सदस्यीय सचिवालय छ । सचिवालयमा रहेका वरिष्ठ नेता नेपाल अमेरिकामा छ भने ईश्वर पोखरेल लेवनानमा छन् । पार्टी अध्यक्ष दाहाल २२ भदौमा भारत जादैछन् । नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुको टोली चिनिया कम्युनिष्ट पार्टीको नियमन्त्रणामा चीन जादैछन् । श्रेष्ठ चीनमै रहेका बेला भारत भ्रमण सकेर अध्यक्ष दाहाल १ असोजमा चीन पग्ने कार्यक्रम रहेको छ।

वरिष्ठ नेता नेपाल २० भदौ र पोखरेल लेवनान-पोल्यान्डको भ्रमण सकेर २३ भदौमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। नेकपा स्थायी कमिटीका सदस्य बिश्वनाथ साहले बिभिन्न कारणले बैठक स्थगित भएपनि छिटै नै बैठक बस्ने बताए । पार्टी एकता लगायतका बिषयमा गहन रुपमा छलफल बैठकमा हुने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.