विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल | 2026 Sep 28 | 06:53 am 229

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्ने भएका छन्।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी गतिविधि र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। जिल्लामै बसेर पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहने पाण्डे अप्ठ्यारो परिस्थितिमा कार्यकर्ताका समस्या समाधानका लागि पहल गर्ने नेताका रूपमा परिचित छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका पाण्डे २०७८ सालमा सम्पन्न नेपाली कांग्रेस गुल्मीको आठौँ जिल्ला अधिवेशनबाट ८५० मत प्राप्त गर्दै जिल्ला सहसचिवमा निर्वाचित भएका थिए। करिब ३० वर्षको उमेरमै जिल्ला नेतृत्वमा पुगेका उनी त्यसपछि पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

जिल्ला सहसचिवको जिम्मेवारीसँगै पाण्डे २०७८ सालमा गठित कांग्रेस गुल्मीको जिल्ला कार्यसम्पादन समितिमा पदेन सदस्यका रूपमा सहभागी भएका थिए। त्यस्तै, २०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा गठित पार्टीको जिल्ला संसदीय बोर्डमा समेत उनले जिम्मेवारी पाएका थिए।

पार्टीको संगठनात्मक जिम्मेवारीका अतिरिक्त सामाजिक सेवामा समेत सक्रिय पाण्डे जिल्लाका नेता तथा कार्यकर्तासँग नियमित सम्पर्कमा रहने गरेका छन्। कार्यकर्तालाई समस्या पर्दा उनीहरूको कुरा सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि पहल गर्ने उनको कार्यशैली रहेको बताइन्छ।

इमानदार, लगनशील र कर्मठ कार्यकर्ताको छवि बनाएका पाण्डेले पार्टी संगठनलाई निरन्तर समय दिँदै आएका छन्। विद्यार्थी राजनीतिबाट हासिल गरेको अनुभव, जिल्ला नेतृत्वमा रहेर निर्वाह गरेको जिम्मेवारी र सामाजिक सेवामा आफ्नो सक्रियतालाई उनले राजनीतिक यात्राको आधार बनाएका छन्।

यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुल्मी क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्दै पाण्डेले आफ्नो राजनीतिक यात्रालाई थप जिम्मेवारीका साथ अघि बढाउन खोजेका छन्।

पार्टीको आन्तरिक संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताका समस्या र सुझावलाई नेतृत्वसम्म पुर्‍याउने तथा नयाँ पुस्तालाई संगठनमा जोड्ने विषय महाधिवेशनका क्रममा महत्वपूर्ण हुने देखिन्छ। जिल्ला तहमा रहेर काम गरेको अनुभवसहित पाण्डे महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.