बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल | 2026 Sep 13 | 09:54 am 81

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङलाई विभिन्न गरगहनासहित नियन्त्रणमा लिइएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजार निवासी लीलाबहादुर बोगटीको घर बगाएको थियो। सोही बाढीले बगाएर ल्याएको गरगहना तामाङले भदौ ११ गते फेला पारेको प्रहरीको भनाइ छ।

गरगहना फेला पारेपछि तामाङले सम्बन्धित व्यक्तिलाई खबर नगरी आफ्नै घरमा राखेको जानकारी पाएपछि बोगटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तामाङको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद भएको छ।

घटनाबारे तामाङविरुद्ध चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.