काठमाडौँ २० असोज — जेंजी आन्दोलन बाट स्थापित वर्तमान सरकार तथा सुसिला कार्की नेतृत्वको व्यवस्थापकीय संयन्त्रमाथि ठुल्ठुला चुनौती तेर्सिएका छन्। देशका ठूला-ठूला राजनीतिक प्रकरणहरू अहिले अनुसन्धानको चरणमा छन्। ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी काण्ड, सुन तस्करी र अन्य भ्रष्टाचार सम्बन्धि मुद्दाको विषयहरूमा सरकार र अनुसन्धान निकायको चासो बढ्दो छ।
यी घटनाहरूमा पूर्व प्रधानमन्त्री, निवर्तमान मन्त्री, उच्च प्रशासकीय अधिकारीदेखि प्रभावशाली नेताहरूको नाम जोडिन थालेपछि अब प्रश्न उठ्न थालेको छ , के साँच्चै पूर्व प्रधानमन्त्रीदेखि निवर्तमान मन्त्रीसम्म अनुसन्धानको घेरामा आउलान्?
हालैको तथ्यहरूले देखाउँछ कि ती प्रकरणहरूमा केही मन्त्री र नेताहरूको संलग्नताबारे गोप्य रूपमा अनुसन्धान भइरहेको छ। भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई शरणार्थी बनाइ अमेरिका पठाउने योजनामा संलग्न भनिएका उच्च तहका व्यक्तिहरूमाथि पनि अनुसन्धानको आँखा पुगेको छ।
यस्तै, ललिता निवास जग्गा हिनामिनामा पूर्व प्रधानमन्त्री र पूर्व मुख्य सचिवहरूको संलग्नताबारे अघिल्लो चरणमा पनि अनुसन्धान सुरु भइसकेको थियो। यद्यपि, नेपालमा शक्तिशालीहरू सजिलै कारबाहीको दायरामा नपर्ने प्रवृत्ति रहेकाले जनता भित्रैभित्रै संशयमा छन्। कतिपयले सरकारमाथि ‘छुट दिने संस्कृति’को आरोप पनि लगाइरहेका छन्।
तर पछिल्लो समय बढ्दो जनचाप, सामाजिक सञ्जालको निगरानी र अन्तर्राष्ट्रिय नजरका कारण अब भने अनुसन्धानले गम्भीर मोड लिनसक्ने अनुमान गरिँदैछ। यदि अनुसन्धान निष्पक्ष रूपमा अघि बढ्यो भने, राजनीतिक इतिहासमै पहिलोपटक ठूला नेताहरूले समेत जवाफ दिनुपर्ने अवस्था आउन सक्छ। त्यो अवस्था देशको न्याय प्रणालीको लागि ऐतिहासिक मोड बन्न सक्छ।
तर वास्तविकता भने अझै प्रतीक्षाकै विषय नै रहेको छ । अनुसन्धान निष्पक्ष, प्रभावहीन र पारदर्शी भयो भने मात्र पूर्वप्रधानमन्त्रीदेखि निवर्तमान मन्त्रीसम्मका नामहरू कानुनी दायरामा आउन सक्छन्। अहिलेको अवस्था भने ‘छानबिन जारी छ’ भन्ने सरकारी भनाइमा सीमित देखिन्छ। तर प्रश्न ज्यूँका त्यूँ छ , के देशले अब साँच्चै ठूला माछासमेत समाउने साहस देखाउनेछ ? कि फेरि जस्ताको तस्तै ?
नेपाली भनि छाती फुलाएर हिँडने नागरिकलाई यो गणतान्त्रिक लोकतन्त्रले विश्वको अगाडी अरुसँग कसरी आँखा जुधाएर बोल्न सक्ने स्थितिमा राख्ने हो वा सधैँ सबैको सामु शिर झुकाउने अवस्था श्रृजना गर्ने हो ? त्यो भने हेर्न बाँकी नै छ ।