‘नेतागणको खेलमा, डाक्टरजति जेलमा’

| 2018 Sep 02 | 11:25 am 1815

काठमाडौं, भदौ १७: देशभरका चिकित्सक आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आव्हानमा आइतबार देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।

सरकारले मुलुकी अपराध संहिता २०७४ को ‘इलाजसम्बन्धी कसुर’ सच्याउने प्रतिबद्धता पूरा नगरेको भन्दै माइतिघरदेखि बानेश्वरचोकसम्म विरोध जुलुस निकालेका छन्। विरोधका क्रममा सरकार र राजनीतिक दलका नेतृत्वको लापरवाह र अंकुश लगाउने प्रवृतिको विरोध गरेका छन्।

उनीहरुले ‘नेतागणको खेलमा, डाक्टरजति जेलमा’ , ‘सरकारको जालझेल, चिकित्सकलार्इ फसाउने खेल’, ‘मुलुकी सं‌हिता संशोधन गर’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

संघले आजै चिकित्सकको लाइसेन्स मेडिकल काउन्सिललाई फिर्ता गर्ने तयारी गरेको छ। त्यसअघि माइतीघर मण्डलामा जम्मा भएर विरोधका कार्यक्रम गर्ने संघको तयारी छ। काउन्सिलको तथ्यांकअनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारलाई दिएको १५ दिनको अल्टिमेटम सकिएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए। अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले १५ दिनभित्र संहिता संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो तर प्रतिबद्धता पूरा गरिएन, आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका हौं।’

सरकारले मागबारे अझै बेवास्ता गरे शुक्रबारबाट भने प्रशासन, ल्याब तथा सबै किसिमका शल्यक्रियासमेत बन्द गर्ने चेतावनी दिएको छ। संघका देशभरका १६ शाखाबाट संकलित चिकित्सक लाइसेन्स (मेडिकल काउन्सिल प्रमाणपत्र) समेत नेपाल मेडिकल काउन्सिलमा फिर्ता गरिने अध्यक्ष श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.