अख्तियारका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक : राष्ट्रपति

| 2024 Sep 15 | 01:10 pm 889

काठमाडौँ ३० भदौ / राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रस्तुत गरेका थिए । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसूरको पहिचान, अनुसन्धान, तहकिकात र अभियोजन प्रक्रियालाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपति पौडेलले अख्तियारको संस्थागत क्षमता विकास र कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको पनि बताएका छन् ।
अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीतिहरू अवलम्बन गर्दै आएको र कार्य सम्पादनमा निष्पक्षता र निर्भीकता कायम राखेकोमा खुशी व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाहीहरू समेटेर पेश गरेको यो प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयहरूलाई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.