बुटवल, भदौ १५ : प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब प्रदेश ५ द्वारा आयोजित शान्ति सुरक्षा र मानवअधिकार विषयक साक्षात्कारमा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताएका हुन् ।
सुरक्षा बिना विकाश सम्भव नभएको प्रस्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिकको सहकार्य चाहेको डिआइजी बस्नेतले बताए । ‘यो प्रदेशमा मुख्य गरी लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रूपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौँ ।’ उनले भने ‘प्रदेश बनिसकेपछि हाम्रो दरबन्दी (प्रहरी संख्या )घटेको छ ।, संघीय प्रहरी इकाइ कार्यालय, तालिम केन्द्र, दंगा गणहरू पनि यताउता भएको छ ,यसले केही असहज भएको हो । ’
प्रदेश ५ मा १ वर्षे कार्य योजना बनाएर सुरक्षा सतर्कता बढाइएको उनले बताए । मानवअधिकारको विषयमा नेपाल प्रहरी एकदमै संवेदनशील रहेको भन्दै उनले प्रहरीले यसलार्इ छुट्टै सेल नै निर्माण गरेर संवेदनशीलताका साथमा हेरिरहेको बताए । ‘प्रदेश ५ मा १ वर्षे कार्य योजना बनाएका छौँ, सडकमा सुरक्षित ढंगले हिँड्न पनि हामीले सिकाएका छौँ’ बस्नेतले भने—‘ समाजमा भएका गैर सामाजिक र गैरकानुनी कामहरूलाई पत्रकारहरूले प्रहरीसँग ल्याइदिएर सहयोग गर्नुस् ।’
उनले अपराधको श्रृङ्खला बढेको भन्दा पनि अहिले बाहिर आउने क्रम (अपराधको रिर्पोट) बढेको भन्दै लागु भएको नयाँ अपराध संहिताले काम गर्नमा केही झन्झट बनाएको समेत बताए । बितेको ३ वर्षको अवधिमा प्रदेश ५ मा जबरजस्ती करणी, हाततियार, महिला हिंसा, दुर्घटना, बेचबिखनको संख्या बढेको भन्दै सबै मिलेर निर्मूल पार्नुपर्ने बताए ।
राष्टिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख पवनकुमार भट्टले आफ्नो कार्यालयमा ३९४ वटा उजुरी परेको जानकारी दिए ।
उनले हत्या, बेपत्ता, यातना, मानव बेचबिखन, अधिकार लगायतका विषयमा उजुरी परेको बताए । मानव अधिकारप्रति जनताको चासो बढेको छ ।

१८ प्रतिशत उजुरीमा राज्यले सहयोग गरेको र अन्यमा असहयोग भइरहेको बताए । आयोगको सिफारिसलाई सरकारले कारबाही गर्न नसकेको उनले बताए । अबका दिनमा अधिकार र कर्तव्यलाई सम्झनुपर्ने बेला आएको उनको धारणा छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले मानव अधिकारको विषय नेपालमा हत्या र हिंसामा मात्रै सीमित राखिएको बताए ।
विश्वको अवस्था हेर्ने हो भने मानव अधिकारको विषयमा नेपाल ३ सय वर्ष पछाडि रहेको दाबी गरे ।
बेपत्ता तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ओझेलमा परेको भन्दै उनले १० वर्षे जनयुद्धका छिटाहरू अझै पनि बाँकी रहेको उनले बताए । किचनपुरको घटनामा प्रहरी प्रशासन मिस गाइडेड भएको दाबी गरे ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीले बितेको ६ महिनामा प्रदेश ५ मा मानव अधिकार हनन्का ७०६ घटनाको तथ्यांक इन्सेकको रेकर्डमा आएको बताइन् ।उनले रुपन्देहीमा १ सय ५७ वटा घटना घटेको भन्दै बालबालिका ,महिला यसको सिकारमा परेको जानकारी दिइन् ।सो कार्यक्रम क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।