पारसले थाले राजनीतिक भेटघाट, राप्रपाका तीन अध्यक्षसँग गोप्य वार्ता

| 2018 Aug 31 | 07:21 am 1557

काठमाडौं, भदौ १५: लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन्। बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन्।

तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन्। त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए।

‘राप्रपाहरूको एकता हुने सुनेको थिएँ, अहिले के भइरहेको छ ?,’ छलफलको सुरुमै पारसले यस्तो जिज्ञासा राखेका थिए । त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

भेटवार्तामा को–को थिए सहभागी ?

भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए। एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा. सुष्मा आचार्य र डा. केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे, सहभागी थिए। राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको पारसनिकट स्रोतले बतायो।

बलियो राष्ट्रवादी शक्ति बनाऔँ: पारस

भेटवार्तामा पारसले राष्ट्रवादी शक्ति बलियो बनाउन आवश्यक रहेको भन्दै एकजुट हुन सबैलाई सुझाब दिएका थिए। ‘सबै युवा मिलेर राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ । त्यसमा तपाईंहरूले विषेश ध्यान दिनुहोला,’ पारसले युवा नेतालाई यस्तो सुझाब दिएको सहभागी एक नेताले बताए।

राप्रपा प्रजातान्त्रिकका नेता राजेन्द्र गुरुङले पूर्वयुवराज पारससँग उनकै निमन्त्रणमा पार्टी एकताबारे छलफल भएको बताए। ‘तीन टुक्रामा रहेका राप्रपालाई एक ठाउँमा ल्याउने प्रक्रिया कहाँ पुग्यो भनेर सोध्नुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘एकतामा बल हुन्छ, शक्ति हुन्छ। मिलेर अघि बढ्दा संगठन सशक्त र सुदृढ बनाउन सजिलो हुन्छ, यस विषयमा ध्यान दिएर अघि बढ्दा राम्रो हुन्छ भन्ने उहाँको सुझाब थियो।’

सामाजिक अभियान चलाउन पारसलाई सुझाब

पारसले आफू कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने विषयमा समेत युवा नेताहरूसँग सुझाब मागेका थिए । नेताहरूले पारसलाई सामाजिक अभियान चलाउन सुझाब दिएका थिए। तर, पारसले कुनै प्रतिक्रिया नदिई टाउको हल्लाएर मौन समर्थन जनाए। ‘धेरै त बोल्नुभएन, तर सबैका कुराहरू रुचि मानेर सुन्नुभयो। हामीले हाम्रा कुरा राख्यौँ,’ लावतीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.