रत्ननगर, भदौ १४: दक्षिण चितवनको माडीस्थित बेलाबेलामा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज बिहिबार नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिन बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
गत भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जितबहादुर राईलाई आक्रमण गरी मारेको बाघलाई बिहिबार साँझ ६ः४२ बजे नियन्त्रणमा लिएको छ। अनुमानित १० वर्षको भाले बाघलाई निकुञ्जबाट खटिएका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो । आज दिनभरको कडा मिहनतपछि मात्र बाघ समात्न सफल भएको डा गैरेले बताए ।
बाघ नियन्त्रणका लागि एकदम सिपालु छ वटा हात्तीहरुको प्रयोग गरेर पाँच दिन अघिदेखिको प्रयासबाट बाघ समातिएको हो । यसअघि बाघ नियन्त्रणमा लिन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन । समातियका बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर राखिने ढकालले बताएका छन् ।