काठमाडौँ २८ फागुन / नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवादका बीच बैठक आज दिउँसो १ बजे टीकापुर बस्ने भएको छ । पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।
अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा पार्टीका संरक्षक रेशम चौधरीको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ । त्यस्तै बैठकले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा आवश्यक निर्णय लिने स्रोतले बताएको छ ।
समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरूलाई फिर्ता नहुन अर्को निर्देशन जारी गरेपछि नाउपा फुटको संघारमा पुगेको छ । पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।