काठमाडौँ २१ फागुन । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तस्बिर ह्वाट्सएपमा राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । +९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट सप्तरीको राजविराजका एक व्यक्तिलाई फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए ।
रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ गरिएकाहरूमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई अदालतमा उपस्थित गराई ठगी मुद्दामा ७ दिनको म्याद थप गरिएको छ ।