काठमाडौँ २० फागुन / प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका संसद्का प्रमुख दलका नेतासँग छलफल गरेपछि विवाद टुंग्याउन संसदीय समितिको बैठक शुरू भएको छ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल गर्ने तयारी छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो साढे १ बजे मात्र सुरु भएको हो । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल गर्ने तयारी छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री प्रचण्डले बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
एमालेले विधेयक पीडित मैत्री हुनुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने अडान राख्दै आएको छ ।