काठमाडौँ १९ फागुन । प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रदेश बलियो भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा जोड दिएक छन् । सङ्घीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्नुपर्ने बताउँदै “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरूरी भएको प्रधानमन्त्री दाहालले बताएका छन् ।”
प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशले छोटो समयमानै विकास, समन्वय, सहकार्य लगायतका विषयमा गरेको योगदानको प्रशांसा गर्दै सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका दृष्टिले अझै परिश्रम गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना दिएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूका षड्यन्त्र निस्तेज पार्न सकिने बताए ।
यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गरौं भने। प्रधानमन्त्री दाहालले आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर सङ्घीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिनुपर्छ भने।
अब तीन करोडभन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताए। केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै उनले यसपटक त्यस्तो सोंच र परम्परा तोड्ने बताए।
सङ्घीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको छ। सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा छ। प्रहरी ऐन लगायतका अन्य ऐनहरू पनि छिट्टै संसद्मा प्रस्तुत हुँदैछन्। सङ्घीय कानूनहरू निर्माणमा सरकार लागिरहेको दाहालले बताएका छन्।