भारतमा अवैध लगानी र ठगी गरेको आरोपमा एक सयभन्दा बढी वेबसाइट बन्द

| 2023 Dec 07 | 07:24 am 1001

नयाँ दिल्ली, मंसिर २१ । सङ्गठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइट पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले बुधबार जनाएको छ।

दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रूपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो।

गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मुल्याङ्कन एकाईको सिफारिसमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती वेबसाइटहरू बन्द गरेको हो।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्य–आधारित-सङ्गठित अवैध लगानी–सम्बन्धित आर्थिक अपराधहरूलाई यी वेबसाइटहरूले सहयोग पुर्‍याउने गरेका, विदेशी अभिनेताहरूले सञ्चालन गरेको र उनीहरूले डिजिटल विज्ञापन, च्याट मेसेन्जर र भाडाका खाताहरू प्रयोग गरिरहेका थिए। कार्ड नेटवर्क, क्रिप्टोकरेन्सी, विदेशी एटिएम निकासी र अन्तर्राष्ट्रिय फिनटेक कम्पनीहरूको प्रयोग गरेर ठूलो मात्रामा आर्थिक ठगीबाट प्राप्त रकम भारतबाट बाहिर निकालिएको पनि थाहा भयो।’

इन्टरनेटमार्फत प्रायोजित यस्ता उच्च कमिसन तिर्ने अनलाइन योजनामा लगानी गर्नुअघि सावधानी अपनाउन पनि मन्त्रालयले सचेत गराएको छ।

( अन्नपुर्णपोस्टबाट )
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.