बारेकोटको व्यथा : भूकम्पमा सबै सकुशल, त्रिपालको बसाइपछि १२ को मृत्यु

| 2023 Dec 04 | 08:53 pm 1417

जाजरकोट, १८ गते –  मध्यराति गएको भूकम्पको केन्द्रविन्दु बारेकोटको रामीडाँडा थियो । जाजरकोटका अन्य स्थान, रुकुम पश्चिम, सल्यान लगायतमा गरी डेढसय भन्दा बढीको ज्यान गयो । तर इपिसेन्टर बारेकोटमा कसैको हातहती भएन । ४ जना घाइते मात्र थिए । उनीहरू पनि उपचारपछि घर फर्के । घर भत्केपछि स्थानीय सबैको बास त्रिपालमुनि हुन थाल्यो । त्रिपालमा बस्न थालेपछि भने बारेकोटमा व्यथा बढेको छ । यो एक महिनामा मात्र त्रिपालमा बस्दा चिसो लागेर बारेकोटमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

भूकम्पले घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकाहरूको चिसोका कारण मृत्यु भएको गाउँपालिका प्रमुख वीरबहादुर गिरीले जानकारी दिए ।बारेकोट उच्च भेगको तापक्रम एक डिग्री सेल्सियसमा झरिसकाले पीडितको अवस्था झन् कठिन भएको उनले बताए । ‘सोमबार यो क्षेत्रमा पानी परेको छ । माथिल्लो भेगमा हिउँ समेत परेको छ,’ उनले भने, ‘त्रिपालमा बस्दै आएकाहरूलाई झन् जोखिम बढेको छ ।’ उनले बारेकोटमा अपेक्षित रुपमा टेन्ट र तातो लुगा लिएर राहत दिन आउने दाताको कमी भएको उनले बताए ।

‘भौगोलिक रुपमा अलि टाढा भएकाले अपेक्षित रुपमा अति आवश्यक राहतको कमी छ,’ उनले भने, ‘त्रिपालमुनि बस्दै अएका वृद्धवृद्धा र बालबालिकालाई तातो लुगाको खाँचो छ ।’

प्रमुख गिरीले पालिकामा चिसोका बिरामी बढ्दै गएकाले दम र दीर्घरोगीलाई बढी जोखिम भएको बताए । ‘हामीले स्रोतले भ्याएसम्म चिसोबाट जोगाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।
चिसोका कारण मृत्यु हुनेहरूमा बारेकोट बयालाका कर्णे कामी, जिरीका नरेन्द्रबहादुर सिंह, ताँसीका वीरबहादुर कामी, पुनगाउँका इमे पुन, र दलितआगरका कमल सिंह, सेपुखोलाका ऐवान कामी, छुमाका डिल्लीबहादुर चलाउने, सुवाकोटका भीमबहादुर परियार छन् । त्यस्तै धौलाकोटकी मन्दरी कामी, करुकाकी कल्दरी थापा र बयालाकी मनबुजा महतारा रहेको गाउँपालिकाले जनाएको छ ।

बारेकाटेको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेकाले चिसो झन् बढेको छ । भूकम्पपीडितलाई अस्थायी टहरा सार्न अझै केही समय लाग्ने गाउँपालिकाले जनाएको छ । हालसम्म जाजरकोट र रुकुमपश्चिममा गरी दुई दर्जनको मृत्यु भइसकेको छ ।

मृतकको सूची

 

 

( कान्तिपुरबाट)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.