कञ्‍चनपुरमा कर्फ्यु हट्‍यो, राति निषेधाज्ञा

| 2018 Aug 27 | 12:39 pm 1495

कञ्‍चनपुरमा, भदौ ११ : कञ्‍चनपुरको भीमदत्तनगरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू हटाइएको छ भने आज राति निषेधाज्ञा लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो। जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ । बजारमा चहलपहल बढेको छ। शैक्षिक संस्था भने आज पनि बन्द छन् । भीमदत्त नगरपालिका-२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो। स्थानीय प्रशासनले गत शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.