कविता : नाथे भूकम्प

| 2023 Nov 04 | 05:12 pm 2825

– राजेश खोटाङ्गे

सबै जना सुतेको बेला आइस्
जिउँदा मान्छेहरुको जिन्दगी खाइस्
पटकपटक नेपालीलाई शाेकमा डुबाइस्
ल आफैं भन् मान्छे मारेर के पाइस् ?

कसैलाई अपांग बनाइस्
थुप्रैलाई धुरुधुरु रुवाइस्
उद्धारकर्ताकाे बाटो पर्खाइस्
आफन्तलाई लाश रुँघाइस् !

ल आफैं भन् मध्य रातमा किन आइस् ?
काेही आधा मरेका छन्
काेही पुरै मरेका छन्
कसैले उद्धारकाे अपेक्षा गरिरहेका छन्

कसैले सहयोगकाे याचना गरिरहेका छन्
ल आफैं नआउनु पर्ने ठाउँमा किन आइस् ?
तँलाई आउनु नै छ भने दिउँसो आइज
संसद चलिरहेको बेलामा आइज

संसद भवनलाई केन्द्रविन्दु बनाएर आइज
अठार देखि बीस रेक्टर स्केलकाे बाेकेर आइज ।
तर छेउछाउका घर क्षति नगर्ने गरि आइज ।
नआइज होइन आइज

हप्ताको एक पटक आइज
तर …
देश लुट्नेहरुकाे घरमा मात्रै आइज
सामन्तकाे महलमा मात्रै आइज
गुन्डा तस्कर र माफियाको हबेलीमा मात्रै आइज

कृपया
हामी दुखी गरीब र निमुखाहरुकाे झुपडीमा कहिल्यै नआइज ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.