निर्मला हत्या प्रकरण: यस्तो भयो ४ बुँदे सहमति, कर्फ्यु जारी

| 2018 Aug 25 | 05:40 pm 2032

कञ्चनपुर, भदौ ९: जिल्ला प्रशासन कार्यालयले १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर चर्किएको आन्दोलन शान्त बनाउने प्रयासस्वरुप सरोकारवाला पक्षसँग छलफल गरी ४ बुँदे सहमति गराएको छ ।

सर्वदलीय र सर्वपक्षीय बैठकमा प्रहरीको गोली लागी मृत्यु भएकालाई सहिद घोषणासँगै क्षतिपूर्तिका लागि तीनै तहका सरकारसँग आग्रह गर्ने, आन्दोलनका घाइते व्यक्तिको समयमै उपचारको व्यवस्था र शारीरिक अशक्तता भएकाहरुलाई जीविकोपार्जनका लागि यथोचित व्यवस्था गर्न आग्रह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

चार बुँदे सहमति भए पनि शुक्रबार राति ८ बजेदेखि लगाइएको कर्फ्यु भने यथावत छ। प्रशासनले अर्को निर्णय नहुँदासम्मका लागि कर्फ्यु जारी गरेको हो। लगातारको कर्फ्युका कारण जनजीवन पनि प्रभावित बनेको छ।

यसैगरी, आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षति र भीड नियन्त्रण गर्न भएको दमन र गोली चलाइएको विषयमा निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि समिति गठन गर्न सरकारसँग आग्रह गर्ने, जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी व्यवसायी सबै क्षेत्रबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाइ विरोधका कार्यक्रम आजैबाट बन्द गर्न अपिल गर्ने निर्णय भएको प्रजिअ अधिकारीले बताए। शुक्रबार साँझ आन्दोलन उग्र बनेपछि प्रहरीले चलाएको गोली लागेर १ बालकको मृत्यु भएको थियो।

छलफलमा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, अधिकारकर्मी, नागरिक समाज, उच्चास्तरीय छानबिन समितिका सदस्यहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.