काठमाडौँ ,कात्तिक १४ । स्याङ्जाको,चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् ।
५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
साँझ सुतेर बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको अबस्थामा देखेपछि छोरीले छिमेकीलाई खबर गरेकी थिइन् ।
पहिला पहिला पनि श्रीमान श्रीमतीको झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन भएको छैन ।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।