प्रिन्सीपल हत्या प्रकरण : आपसी सम्बन्ध एवम रिसिबिको कारण हत्या

| 2023 Oct 31 | 11:38 am 2597

कृष्ण यादव,

बारा १४ । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । ६ जना हत्यामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

पक्राउ पर्ने एकजना महिला उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका रहेको प्रहरी स्रोतले जनाएको छ । आपसी सम्बन्ध एवं रिसिबीको कारण स्वर्णकारको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन । सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चारजनाको समूहमा आएको अज्ञात समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेका थिए ।

टाउको तथा छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.