प्रेरक प्रसंग : राष्ट्रपतिको विनम्रता

| 2023 Oct 31 | 07:26 am 1693

काठमाडौँ, कार्तिक १४ ।

एकपटक अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन कतै जाँदै थिए । साथमा उनका केही निकट मित्र र राष्ट्रपति कार्यालयका केही अधिकारी थिए । उनीहरू अलग–अलग बग्गीमा बसेर यात्रा गर्दै थिए । उनीहरू एउटा गाउँ हुँदै अर्को गाउँतिर गइरहेका थिए ।

यात्राका क्रममा उनीहरू एउटा गाउँमा पुगे । बाटामा एकजना अश्वेत युवा देखिए । सायद उनले राष्ट्रपति वासिंटनलाई चिने । त्यसैले, उनले आफूले लगाइरहेको ह्याट उतारेर केही झुक्दै राष्ट्रपतिलाई अभिवादन गरे । यो दखेपछि राष्ट्रपति वासिंटन पनि आफू बसिरहेको बग्गीको सिटबाट जुरुक्क उठे, आफ्नो ह्याट उतारे र ती अश्वेत युवाभन्दा केही बढी नै झुकेर अभिवादन फर्काए । राष्ट्रपतिको यस्तो व्यवहार देखिरहेका उनका मित्र तथा कार्यालयका अधिकारी अचम्मित भए ।

केही पर पुगेपछि उनीहरूको टोली विश्रामका लागि एकैछिन रोकियो । विश्रामको समयमा मौका पाएर राष्ट्रपति वासिंटनका एक मित्रले उनीसित सोधे– तपाईं पनि अनौठा मानिस हुनुहुन्छ महामहिम ! आखिर एक अशिक्षित गाउँले अश्वेत नागरिकले आफ्नो देशका राष्ट्रपतिलाई सम्मान गर्दा तपाईंले ऊभन्दा पनि बढी नै झुकेर अभिवादन गरिरहनु के जरुरी थियो ?

मित्रको प्रश्न सुनेपछि एकैछिन गम्भीर भएर राष्ट्रपति वासिंटनले जवाफ दिए– मित्र, एक अशिक्षित, गाउँले अश्वेत नागरिकले मलाई देखेर यति सभ्यता देखाउन सक्छन् भने मचाहिँ देशको राष्ट्रपति भएर पनि उनीभन्दा कम सभ्यता कसरी देखाउन सक्छु ? मैले, त्यति सभ्यता नदेखाएको भए, उनीसामु म कति असभ्य ठहरिँदो हुँ, यसो विचार गर्नुहोस् त ! वासिंटनको जवाफ सुनेर उनका मित्र र कार्यालयका अधिकारीले शिर झुकाए ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.