- गोपाल मरासिनी
गुल्मी, भदौ, ९ : रेसुङगा नगरपालिका वडा नं ६ मा विकासे बजेटमा व्यापक अनियमितता भएको छ । गोरेटो बाटो निर्माण , मठमन्दिर , खाने पानी लगाएताका विकासे योजनामा अनियमितता भएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै १४ ओटा योजनामा लाखौँ रुपैयाँ अनियमितता जनाएको छ । नेपाली कांग्रेसले विभिन्न योजनामा अनियमितता भएको भनेर १४ ओटा योजनाको नाम सहित छानबिनको माग गर्दै वडा अध्यक्ष गनवहादुर गुङगलाई विज्ञप्ति बुझाएको भए पनि कुनै छानबिन नगरी अनियमिततालाई बढुवा दिएको नेपाली काँग्रेसले आरोप लगाएको छ ।
नेपाली कांग्रेसका वडा सभापति केशव मरासिनीले योजनाहरू शुरु नै नगरी भुक्तानी गरी अनियमितता भएको बताए । ‘वडा कार्यालयलेको ४ वटा योजनाको कुनै रकम खर्च भएको छैन । लगन पछिको पोते भने जस्तै अनियमिततालाई लुकाउन हिजो बिहान मात्र १ ,१ वटा सुन्तला कागतीको बिरुवा वितरण गरियो ।’ उनले भने ‘अधिल्लो वर्ष नै सम्पन्न हुनु पर्ने योजनाहरू काम नै नगरी रकम लिएर अहिले शुरु गरिदैछ । यसलाई अनियमितता नभनेर के भन्ने । अहिलेका योजना मात्र होइन पुराना योजनामा पनि कसले कति भाग लगाएर खाएका थिए ती सबैको हिसाब किताब सार्वजनिक गर्नु पर्छ ’ । तर वडा कार्यालयले नै ४ वटा योजनामा कुनै रकम खर्च नभएको र अन्य योजनामा अनियमितता भएको वडा अध्यक्ष गुरुङले नै स्विकारेको मरासिनीले बताउए ।

वडा कार्यलयलका वडा सचिव डिलिराज आर्चायले पनि अनियमितता मिलापत्र भएको बताए । नेकपाका रामप्रसाद मरासिनी , नेपाली कांग्रेसका सभापति केशव मरासिनी समेत बसी मिलाएको वडा सचिवले बताए। ‘कांग्रेसलाई भ्रम भएर विज्ञप्ति दिनुभयो तर समितिका मानिसहरू छलफल गरी सबै मिलायो ’ उनले भने । मिलापत्र गरेर अनियमितता गर्न पाइन्छ भन्ने प्रश्नमा उहाँले आफुलाइै कुनै जानकारी नभएको र वडा अध्यक्षलाई नै सोध्न पर्ने भन्दै पन्छन खोज्नु भयो ।
कांग्रेसका सभापति केशव मरासिनीले भने आफूहरूले अनियमिततामा कुनै मिलापत्र नगरेको बताए । ‘अघिल्लो वर्षका योजनाको अनुगमन गर्न भन्दै ५ जनाको अनुगमन समिति निर्माण गरिएको थियो । तर ती योजना मध्ये ३० वटा योजना सम्पन्न भएको र अन्य योजनामा अनियमितता देखियो । अनियमितताको छानबिन गर्न भन्दै नेपाली काँग्रेसले विज्ञप्ति बुझाएको हो ’ उनले भने ।
मरासिनीले योजनाको वडा अध्यक्षले नै योजना सम्पन्न भएको भनेर पत्र लेखेर नगरपालिकालाई दिएको भन्दै अनियमितताको जस सबै वडा अध्यक्षले नै लिनु पर्ने जिकिर गरे । वडा अध्यक्ष गनवहादुर गुरुङलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाउनु भएन ।वडा गुरुङले योजनाको बारेमा पत्रकारले जानकारी माग्दा अनावश्यक सोधखोज गरेको भनेर अघिल्लो पटकका अनियमिततामा सम्पर्कमा नआएको सार्वजनिक कार्यक्रममै बताका थिए ।
वडा कार्यालयले आफ्नै पार्टीका नेता कार्यकताहरु नै अनियमिततामा मुछिने भए पछि अनियमितताको छानबिन गर्न आलटाल गरिरहेको छ । वडा अध्यक्ष गुरुङले आफू अनुकूलका नेता कार्यकतालाई नै योजना सुम्पिए पछि अनियमितता भएको हो । स्रोतका अनुसार चुनावका वेला विभिन्न राजनीतिक दलमा रहेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदा दिइएका आश्वासन पुरा गर्न भन्दै योजनाहरू सुम्पिदा अनियमितता भएको स्रोतको दाबी छ । जनप्रतिनिधिले नागरिकलाई जानकारी नै नदिई गुपचुप नगरपालिका बाट योजनाहरू लगेर आर्थिक अनियमितता गर्ने गरेका छन् ।
१४ वटा योजनामा २४ लाखको अनियमितता
रेसुङा नगरपालिका वडा नं ६ मा अधिल्लो वर्षका योजनामा व्यापक अनियमितता भएको खुलेको छ । कागतीका बोट वितरण देखि लिएर सुत्केरीको पोषणमा समेत अनियमितता भएको छ । कागतीका बोटहरू वितरण नै नगरी रकम कुर्लाए पछि अनियमितताको पोल खुलेको हो । वडा कार्यालयले अनियमिततामामा मुछिने भएपछि रातारात भदौ ८ गते बिहान एक एक वटा कागतीका बोट वितरण गरी अनियमितता ढाकछोप गर्न लागेको छ ।
कागती सुन्तला विस्तार कार्यक्रम १ लाख, व्यावसायिक पशु पालन पकेट क्षेत्र रु २ लाख , घरेलु उद्योग प्रवर्द्धन तथा प्रविधि १ लाख, सहकारी प्रवर्द्धन कार्यक्रम १ लाख, बाल शिक्षा व्यवस्थापन बालकाटे तथा सूर्योदय प्रावि १ लाख , गर्भवती सुत्केरी पोषण कार्यक्रम १ लाख, अत्तरकाडा खान्दुला छाप सिरान खाने पानी योजना ४ लाख, पूर्ण सरसफाइ कार्यक्रम ३ लाख, राधाकृष्ण मन्दिर चेक्मी १ लाख, खेलमैदान निर्माण टोल तथा वडा स्तरमा २ लाख, गुरुङ गाऊ मगर तथा संस्कृति संरक्षणमा १ लाख , वडा स्तरका सबै गोरेटा बाटाहरू मर्मत २ लाख पचास हजार, फुटकर ३ लाख ५० हजार र पहिरो नियन्त्रण सामाग्री व्यवस्थापन १ लाख लगायतका १४ वटा योजनाहरूमा छानबिन गर्न भनी नेपाली काँग्रेसले माग गरेको छ । विभिन्न विकास योजनाहरू गरी करिब २४ लाख ५० हजार वारावरको आर्थिक अनियमितता भएको हो ।
यस अघि पनि कृषक भ्रमण, खेल मैदान लगायतका विकास योजनामा लाखौँ रकम अनियमितता भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा रेसुङा नगरपालिका वडा नं ६ लाई करिब ७३ लाख ५० हजार बराबरको योजना परेको थियो ।