राष्ट्रसंघ महासचिव गुटेरेसले आजै उच्च भेटघाट गर्ने

| 2023 Oct 29 | 07:07 am 1513

काठमाडौँ, कात्तिक १२ गते।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि गएराति नेपाल आइपुगेका छन्। प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा चारदिने भ्रमणका लागि नेपाल आएका उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

उनले भ्रमणको पहिलो दिन नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्दैछन्।  आज राष्ट्रपतिसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग उनकै कार्यालयमा भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट हुनेछ। उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ताको समय तय भएको छ। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन्। भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधारशिविर र लुम्बिनी जाने बताइएको छ। आगामी मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले
जनाएको छ। राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्त्वका साथ हेरिएको छ।
(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.