सौराहामा विदेशी पर्यटकले मनाए दसैं

| 2023 Oct 25 | 08:16 am 2477

काठमाडौँ, कात्तिक ८ गते।

चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीय मनु गिरी र उनकी श्रीमती वर्षा पुरी ९गिरी०ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएका हुन् । उनीहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।

नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे । ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली’, उनले भने ।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थे । उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताए । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् ।

सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दसैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.