म अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि सम्भव छ र क्षेत्र नियन्त्रण बाहिर जानेछ : अमिर-अब्दुल्लाहियान, इरानी विदेशमन्त्री
काठमाडौँ, कात्तिक ६ गते।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन् ।
‘म अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिन्छु कि यदि उनीहरूले गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरुन्तै बन्द गरेनन् भने, जुनसुकै बेला जे पनि सम्भव छ र क्षेत्र नियन्त्रण बाहिर जानेछ,’ अमिर-अब्दुल्लाहियनले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने,’ यो क्षेत्र र युद्धको वकालत गर्नेहरू दुबैका लागि नतिजा ‘गम्भीर, तीतो’ हुन सक्छ र ‘दूरगामी असर’ हुन सक्छ ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना मानिसहरू आफ्नो जीवनको लागि लडाइँमा रहेका सेनाहरूलाई हमास विरुद्धको युद्ध ‘गर वा मर’ को अवस्थामा रहेको बताएको केही घण्टापछि इरानले उक्त चेतावनी दिएको हो ।
इरानी विदेशमन्त्रीले ‘इजरायललाई अमेरिकी सैन्य समर्थनले गाजामा जारी द्वन्द्व ‘संयुक्त राज्य अमेरिकाको तर्फबाट इजरायलले गरेको प्रोक्सी युद्ध’ हो भन्ने प्रमाण हो’ भनेका छन् ।
अमेरिकी शीर्ष अधिकारीहरूले पनि द्वन्द्व फैलिन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी रक्षा सचिव लोयड अस्टिनले अमेरिकी सेना वा नागरिकहरूमाथि ‘महत्वपूर्ण आक्रमणको वृद्धि’ हुने सम्भावनाबारे चेतावनी दिए । ‘यदि कुनै समूह वा कुनै देशले यो द्वन्द्वलाई फराकिलो बनाउन र यो अत्यन्तै दुर्भाग्यपूर्ण अवस्थाको फाइदा उठाउन खोजिरहेको छ भने हाम्रो सल्लाह छ: नगर्नुहोस्,’ अस्टिनले एबीसी नेटवर्कको कार्यक्रममा भने।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले पनि हेजबुल्लाह वा हमास जस्ता इरानी प्रोक्सीहरूबाट युद्ध ‘बढ्ने सम्भावना’ उल्लेख गरे । अमेरिकाले ‘इजरायली र अमेरिकी नागरिकहरूको रक्षा गर्न सक्छौं भनेर सुनिश्चित गर्न सबै उपायहरू गरिरहेको ब्लिन्केनले उल्लेख गरेका छन् ।
अमेरिकाको नेतृत्वमा गठबन्धन सेनाले प्रयोग गर्ने धेरै इराकी अड्डाहरूलाई हालैका दिनहरूमा ड्रोन र रकेट आक्रमणहरूमा लक्षित गरिएको छ। आइतबार पनि नेतन्याहूले लेबनानको सिमानामा उत्तरी इजरायलमा भ्रमण गरे, जहाँ द्वन्द्वको शुरुवाती दिनदेखि हिजबुल्लाहसँग गोलीबारी भइरहेको छ ।
उनले हिजबुल्लाहलाई युद्धमा नआउन चेतावनी दिएका छन्। ‘हिजबुल्लाहले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गर्दैछ। र हामी उनीहरूलाई अकल्पनीय शक्तिले प्रहार गर्नेछौं। यसको अर्थ उनीहरू र लेबनान राज्यको लागि विनाश हुनेछ,’ उनले भने।
हिजबुल्लाहले ‘इजरायलविरुद्ध लड्न पूर्ण रूपमा तयार छ’ रहेको घोषणा गरेको छ । इरानले दुई साताअघि इजरायलमा आक्रमण गर्ने हमास र लेबनानको हिजबुल्लाह दुवैलाई समर्थन गर्छ।
(कान्तिपुरबाट)