कञ्चनपुर, भदौ ८ : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको ज्यान गएको छ ।
कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो । प्रर्दशनका क्रममा प्रहरीले हानेको गोली लागेर एक स्थानीय युवाको ज्यान गएको हो ।
बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली लागेर मृत्यु भएकाे युवकको पहिचान भने खुलिसकेको छैन । प्रहरीको गोलीले अर्का प्रदर्शनकारीको खुट्टामा गम्भीर चोट लागेको छ ।
साउन १० गते बालिका निर्मला पन्तको हत्या भएपछि कञ्चनपुर अशान्त रहँदै आएको छ । बालिका पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई जोगाएर मानसिक सन्तुलन गुमेएका एक युवालाई फसाउन खोजेको भन्दै स्थानीयबासीले पाँच दिनदेखि प्रदर्शन गर्दै आएका थिए ।
