काठमाडौं, असोज २४ । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र ५ हजार ८ सय भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने भएको छ । महानगरभित्र रहेका २२ हजार कुकुरमध्ये बाँकी रहेका ५ हजार ८ सयको बन्ध्याकरण गर्ने योजनाअनुसार हिजो मंगलबारबाट काम शुरू गरेको छ । हालसम्म करिब १७ हजार भाले र पोथी कुकुरको बन्ध्याकरण गरिसकेको कामपाले जनाएको छ ।
बन्ध्याकरणसँगै बन्ध्याकरण भएका र नभएका सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम शुरू गरेको छ । कामपा कृषि तथा पशुपक्षी विभाग प्रमुख डा. अवधेश झाले तीन महिनाभित्र काम सक्ने गरी ९ वटा संस्थाले बन्ध्याकरण र भ्याक्सिन शुरू गरेको जानकारी दिनुभयो । पहिलो चरणमा कामपा वडा नं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ का नौवटा वडाबाट भाले र पोथी कुकुरको बन्ध्याकरण र भ्याक्सिन शुरू गरेको विभाग प्रमुख डा. झाले बताउनुभयो ।
–३ महिनामा ५ हजार ८ सय कुकुरको बन्ध्याकरण गरिने
–१७ हजार कुकुरको बन्ध्याकरण सम्पन्न
–कामपाको कुकुर घटाउने उपाय
महानगरमा भेट फर योर पेट, मण्डला भेटेरिनरी अस्पताल, स्नेहा केयर, नेसनल जुलोसिस एन्ड फुड हाइजनिक रिसर्च सेन्टर, क्याट नेपाल, अक्सा नेपाल र ऐनिमल नेपाल र पशुुपंक्षीप्रति निर्दयता रोकावट नेपालले बन्ध्याकरण र खोप लगाउन स्वीकृति लिएका छन् ।
ती संस्थालाई आवश्यकताका आधारमा भ्याक्सिन र बन्ध्याकरणको जिम्मा दिइने कामपाले बताएको छ । एउटा वडामा काम सक्नेबित्तिकै सन्तोषजनक भएको प्रमाणित भएमा ती संस्थालाई फेरि काम दिन सक्ने गरी योजना तयार भएको विभागीय प्रमुख झाले बताउनुभयो ।
कामपाले संस्थालाई बन्ध्याकरण र भ्याक्सिनबापत एउटा कुकुरलाई २ हजार ५ सय र भ्याक्सिन मात्र लगाए २ सय रुपियाँ दिने गरी सम्झौता भएको छ । यसअघि २०७३ सालमा मनुमित्र कार्यक्रम शुरू गरेर हालसम्म करिब १७ हजार कुकुरको बन्ध्याकरण गरिसकेको छ । महानगरमा कुकुरको संख्या घटाउन र सम्भावित दुर्घटनाबाट जोगाउन कुकुरको संख्या घटाउन लागेको कामपाको भनाइ छ ।
कामपाले भ्याक्सिन र बन्ध्याकरणसँगै सबै कुकुर र बिरालोको अभिलेखीकरण गर्ने तयारी गरेको छ । उहाँले कामपाका ३२ वटै वडावासीलाई कुकुर व्यवस्थापन, कुकुरलाई गर्ने व्यवहार र समुदायलाई स्वामित्व ग्रहण गराउने योजनाअनुसार कार्यक्रम सुरुवात गरेको जानकारी दिनुभयो । वडावासीको सहभागितामा कुकुर वडा व्यवस्थापन समिति गठन गरेर कुुकुरको अवस्थाबारे जानकारी गर्ने योजना तय भएको छ ।
(नेपालसमाचारपत्रबाट)