सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना

| 2023 Oct 10 | 06:21 pm 1777

काठमाडाैं, असोज २३ ।  चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ ।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्वार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चाडपर्व लक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय
कास्की मातहत २, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको छ ।

स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय
रुपन्देही मातहत ३, र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १ स्थानमा राखिएको छ ।

आवश्यक देखिए अन्य स्थानहरुमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने छ । चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि,
चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध
श्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.