प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

| 2023 Oct 08 | 12:31 pm 1517

काठमाडाैं, असोज २१ ।  प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतका प्रधानसेनापतीको निमन्त्रणामा औपचारिक भ्रमणको लागि बेलायत प्रस्थान गरेका छन् ।

बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकन स्थित  सेन्नीब्रिज प्रशिक्षण केन्द्र (SENTA) को भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको स्क्याम्ब्रियन गश्तीमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका दौरानमा प्रधान सेनापतिको बेलायती समकक्षीसँग शिष्टाचार भेटघाट हुनेछ । त्यस्तै, प्रधान सेनापतिद्वारा बेलायती सेनाको स्थल युद्ध विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज  र रोयल मिलेट्री एकेडेमी  स्यान्ड्रस्टका कमाण्डान्टहरुसँग भेटघाट तथा विर्गेड अफ गोर्खाजको समेत भ्रमण हुनेछ ।

प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव श्री किरणराज शर्मा तथा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले बिदाइ गरेका थिए ।  सो अवसरमा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । बेलायत प्रस्थान गर्नु पूर्व प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

७.    बेलायत भ्रमण पश्चात् प्रधान सेनापति यही आश्‍विन २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.