काठमाडाैं, असोज १४ । मोरङ लेटाङ घर भई हाल काठमाडाैं स्थित धुम्बाराही विष्णु गल्ली बस्ने वर्ष ५० को जेन्युइन प्लेसमेन्ट प्रा.ली. मेनपावरको संचालक डिल्लीराम खतिवडाले ढकराज आचार्य समेत १२ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी ठगी गरेका छन् ।
खतिवडाले प्रतिव्यक्ति ८ लाख लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काममा काम लगाइदिने, मासिक १ लाख ८० हजार तलव हुने भनी विश्वास दिलाई प्रलोभनमा पारेर पीडितहरुबाट पटकपटक गरी जम्मा रु. ४६ लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।
पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मेनपावर संचालक डिल्लीराम खतिवडाललाई खोजतलास गरी काठमाडाैं, कोटेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।