पूरा हुन नपाउदै अलपत्र भयो महिला बन्दीगृह

| 2018 Aug 23 | 01:49 pm 1681

पर्वत, भदौ ७: धौलागिरिकै पहिलो महिला बन्दीगृह पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन भवन आर्थिक अभावमा निर्माण हुन सकेको छैन ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार भवन निर्माण कार्य शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट चाहेजती रकम निकासा नहुँदा निर्माण कार्य स्थगीत भएको हो ।

जम्मा २५ जना क्षमताको सो बन्दीगृहका लागि ७२ लाख छुट्टयाइएकोमध्ये अहिले १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि पर्वत कारागारमा निर्माणाधीन अवस्थाको बन्दीगृह बनाउनमा समस्या परेको छ ।

कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भने, “बेवारीसे अवस्थाको बन्दीगृह पूरा गर्न वर्षै पिच्छे रकम माग गरेको भए पनि कुनै पहल भएको छैन, रकमको अभावले पूर्णता दिन सकिएको छैन ।”

आएको १४ लाखले गारो निर्माणको आधा काम मात्र सकियो । अहिले बन्दै गरेको उक्त बन्दीगृहमा झारपात उम्रेका छन् । पर्खालसमेत पुरानो बनिसकेको छ । विसं २०६६ माघबाट बनाउन शुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि भएको छैन ।

एक वर्षभित्रै बनाइ सक्ने लक्ष्यसाथ काम थालिए पनि समयमै रकम निकासा नहुँदा अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताए । महिलाका लागि बेग्लै बन्दीगृह बनाइएको धौलागिरि क्षेत्रकै यो प्रथम हो । उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङका महिला बन्दीलाई पनि राख्न मिल्ने गरी निर्माण गरिएको थियो ।

पच्चीस कैदीबन्दी क्षमताको यस कारागारमा अहिले पाँच जना महिलासहित ७८ कैदीबन्दी छन्
ती मध्ये ७२ लाई कैद समय निश्चित गरिएको छ ।अरु छ थुनुवा छन् । महिला बन्दीगृह बनिसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा निकै कठिनाइ परेको कार्यालयले जनाएको छ ।
सङ्ख्या धेरै भएकैले दुई वर्षअघि कारागारमा कैदीबन्दीबीच झगडा भएको थियो । सानो भवनमा ठूलो सङ्ख्यालाई सम्हाल्न निकै कष्ट परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह बनाउनका लागि कुनै पक्षबाट चासो नदिएको कार्यालयको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.