महोत्तरी , भदौ ७: जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो।
प्रहरीको गस्ती टोलीले चोरीको दुई पिकअपमा ३६ बोरा ५० किलोको दरले प्याज समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।
यसरी प्रहरीले बरामद गरेको दुई चोरीका पिकअप र भन्सार छली ल्याएको ३६ बोरा प्याज गरी रु १० लाख १८ हजार मूल्य बराबरको सबै सामान आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।