विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती

रिपोर्ट नेपाल | 2023 Sep 11 | 12:40 pm 1785

धादिङ, भदाै २५ ।वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन्। युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् ।

युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए ।  “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्छन्, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।”

विसं २०७६ मा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ ।

पौडेल भन्छन, “१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक रु ७५ हजार भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।” अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ ।

सदर प्रतिकिलो रु एक सय २० मा बिक्री गर्दा वार्षिक रु एक करोड ४४ लाखको करोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले  रु २५ लाखमा गाडी किनेका छन् । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उहाँले रोजगारी पनि दिएका छन् ।

पौडेल भन्छन् , “हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।” उनले दुईवटा ग्रिन हाउस बनाउन रु छ लाख अनुदान सरकारबाट लिएका छन् ।  काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक रु एक लाख २० हजार बराबर कमाई हुने उनको भनाइ छ ।

“कमाएको हिसाबले विदेशमा मासिक रु ७५ हजार आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी रु एक करोडमध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु”, उनले भने ।

जाडो मौसममा तीन किलो र गर्र्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका रु ३२ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर रु एक हजार दैनिक पाँउछन् । – कृषि सूचनाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.