नेपाली सेना संयुक्त अभ्यास तथा प्रतिस्पर्धामा सहभागी हुँदै

| 2023 Sep 06 | 04:28 pm 1493

काठमाडाैं, भदाै २० ।  नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा संचालन हुँदै आएको Joint Combined Exchange Training (JCET) Balance Nail को चालिसौं संस्करण यही भदाै २४ गतेबाट असोज १२ गतेसम्म काठमाडाैं उपत्यकामा संचालन हुँदैछ ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

भदाै २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित भदाै २१ गते अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र उक्त विमान  भदाै २२ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।

यसैबीच, संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक Exercise Cambrian Patrol मा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली  भदाै २० गते प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.