मूल्य, मान्यता र सिद्धान्त विपरित चल्दा सहकारीमा समस्या आयोः सचिव दुवाडी

| 2023 Sep 05 | 04:16 pm 1417

काठमाडौं, भदाै १९ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिकस्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिथिको रुपमा बोल्दै उनले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएकोमा जोड दिएका हुन ।

शहरी क्षेत्रमा रहेका केही संस्थाहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरित काम गर्दा समस्या उत्पन्न भएको उनको भनाई छ ।
संख्यात्मकरुपमा नगन्य संस्था समस्यमा परेको भएपनि त्यसले सिंगोे अभियानको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको उनले उल्लेख गरे ।
उनले भने, ‘३२ हजार सहकारी मध्ये एक दुई प्रतिशत संस्थामा समस्या उत्पन्न भएपनि आम जनमानसमा सहकारी प्रतिको बुझाई र विश्वसनीयतामा गम्भीर विचलन आएको छ ।’ मुलुक संघीय संरचनमा गएसंगै कार्यक्षेत्रको आधारमा सहकारीहरु स्थानीय र प्रदेशमा हस्तान्तरण भएपनि संरचनागत ब्यवस्था नहुँदा प्रभावकारी नियमन हुन नसकेको उनले स्वीकारे । राज्य, अभियान र सरोकारवाला निकायबीचको सामञ्जस्यबाट अहिलेको समस्यालाई समाधान गर्न सकिने उनको धारणा छ । सहकारी अभियानले सही बाटो समातेन भने राज्य चुप लागेर नबस्ने उनले स्पष्ट पारे । उनले भने, ‘अहिले सम्म स्वनियमन र स्वअनुगमनको रुपमा सहकारीलाई छाडियो, अभियानले बाटो विरोयो भने राज्य चुपलागेर बस्दैन, कानुनी कारबाही अगाडि बढाउँछ ।’

सरकारले गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले छिट्टै प्रतिवेद ल्याउने जानकारी गराउँदै उनले उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता प्रकट गरे । सचिव दुवाडीले थपे, ‘विगतको जस्तो प्रतिवेदन दराजमा थन्किएर बस्दैन । अघिल्ला प्रतिवेदनहरुलाई कार्यान्वयनका लागि सम्बन्धित निकायले तदारुकता नदेखाएको र सुझाव दिने ब्यक्ति नै कार्यान्वयन तहमा बस्दा कार्यान्वयन हुननसकेको हो ।’
सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्यदलले दिएको प्रतिवेदनको आधारमा सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै जाने उल्लेख गरे ।

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी विभागले २०७६ सालमा प्रकाशित गरेको तथ्याङ्कलाई आधार मानेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यता रहेको बताए ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क पनि विश्वसनीय नभएको भन्दै उनले अहिले कुन संस्था कस्तो अवस्थामा छ भनेर यकिन गर्न गाह्रो भएको औंल्याए ।

सिजेएनका पूर्वअध्यक्ष डिल्ली सापकोटाले मुलुकमा छाएको आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा समेत परेकाले त्यसबाट बाहिर निकाल्न राज्य, अभियान र सरोकारवाला सबै निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

सिजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमकोे संचालन सचिव अर्जुन खतिवडाले गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.