काठमाडाैं, भदाै १७ । संरक्षित वन्यजन्तु गैंडाको खाग सहित एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
गैंडाको खाग (आखेटोपहार) अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ हरहर महादेवबाट उनीहरुलाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा दोलखाका ३० वर्षीय प्रदिप मगर, रामेछापका ५० वर्षीय पुर्णसिंह तामाङ, काठमाडाैं बुढानिलकण्ठका ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटका ३५ वर्षीय कर्ना तामाङ रहेका छन् ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा दुई जनालाई र प्रस्तुत कसूरमा संलग्न रही अनुसन्धानको क्रममा खुल्न आएका थप दुई जना मानिसहरुलाई यस व्यूरो तथा डिभिजन वन कार्यालय काठमाडौँ समेतको संयुक्त टोलीले पक्राउ गरि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाईएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् ।