लालपूर्जा नभएपछि चेपाङले घर बनाउन पाएनन्

रिपोर्ट नेपाल | 2018 Aug 22 | 12:14 pm 1725

धादिङ, भदौ ६: गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन्।

भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताए। आवास पुनःनिर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न सम्झौता रोकिएपछि धेरै पटक तत्कालीन गाविस-वडा कार्यालय र गाउँपालिका धाएको जीतबहादुर चेपाङले बताए।

पूर्णबहादुर चेपाङ मात्र होइन हस्तबहादुर चेपाङ, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ, सोमबहादुर चेपाङ, पार्लाकका शुकराम चेपाङ, लालबहादुर चेपाङ, दीलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइतसिं चेपाङ, जगतबहादुर चेपाङ र रुपबहादुर चेपाङ, धनबहादुर चेपाङको नाम पुनःनिर्माणको सूचीमा रहेको छ तर उनीहरूले अनुदानको रकम पाउन नसक्दा अन्योलमा परेका छन्।

गाउँभरिका कसैको पनि लालपूर्जा छैन। पार्लाक र बाङकुर्ती गाउँका विसं ०३२ मा जग्गा नापी हुँदा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं ४ को ठेगानामा नापी भएको थियो । जग्गाको नापी छैन । जग्गाको पूर्जा छैन । उठिबास लाउँछ कि सरकारले । हामीलाई धादिङ चाहिन्छ । चितवन जाँदैनौँ, रुपबहादुर चेपाङले बताउँदै गर्दा चेपाङ समुदाय आक्रोशित भएका थिए ।

धादिङ जिल्लाको तर्फबाट नापी भएको जग्गापछि चितवनतर्फ सो गाउँ राखिएपछि चितवनमा नापीको श्रेस्ता गएकाले धादिङबाट केही गर्न नसकिएको वडाध्यक्ष टंकबहादुर थापाले बताए। गाउँपछि धादिङतर्फ परेपछि चितवनमा भएको श्रेस्ता धादिङ आएको छैन । चेपाङ समुदाय खानका लागि सङ्घर्ष गरिरहनु परेकाले पहल गरेनन् । अहिलेसम्म बनेका सरकारले उनीहरूको गुनासो सुन्ने फुर्सद नै निकालेनन् । हालसम्म पनि भूमिकर नतिरेकाले उनीहरूले अहिले आफ्नो नाममा जग्गा ल्याएर घर बनाउन नसक्ने अवस्था भएकाले गाउँबासीको समस्या समाधान गर्न पहल गर्नुपर्ने वडाध्यक्ष थापाको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.