भासियो काठमाडौं–फाप्लु सडक, यातायात अवरुद्ध

| 2018 Aug 22 | 10:05 am 2987

सोलुखुम्बु, भदौ ६ : काठमाडौँ–फाप्लु सडक खण्डको छुल्यामू सडक खण्डमा सडक भासिँदा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामूमा सडक करिब दुई फिट भासिएपछि उक्त सडक हुँदै आवतजावत गर्ने यातायातका साधन ठप्प भएका हुन् ।

कुनाको ढलसहित सडकको तल तिरको भाग पूरै भासिदा सो सडकमा यातायात ठप्प भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले जानकारी दिए । जिल्लाबाट काठमाडौँ छुट्ने जिप लगायतका साना सवारीले वैकल्पिक सडकका रूपमा छुल्यामूको माथिल्लो सडक प्रयोग गरेका छन् भने बस तथा अन्य ठूला ढुवानीका साधन पूर्णरूपमा बन्द भएको खबर गोरखापत्र दैनिकमा छ।

सल्लेरी गार्मा सडक खण्डको पक्की सडक खण्ड अवरुद्ध भएकाले वैकल्पिक सडकका रूपमा माथिल्लो छुल्यामु सडक प्रयोग गर्न ट्राफिक प्रहरी पोस्ट सोलुखुम्बुले आग्रह गरेको छ। ठूला सवारी साधनलाई भने बजार क्षेत्रबाट आवागमनको अनुमति छैन। अवरुद्ध सडकको स्थलगत निरीक्षण गर्दै सोमबार नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पासहित सडक डिभिजन कार्यालय ओखलढुङ्गाका प्राविधिकको टोलीले सडक मर्मत कार्य एक हप्तामा सुरु हुने बताएको छ। मेयर शेर्पाले सडक चाँडोभन्दा चाँडो मर्मत गरी सञ्चालनमा ल्याउन आफूले सडक डिभिजन कार्यालयलाई अनुरोध गरिसकेकाले छिटै मर्मत गरिसक्ने बताए।

मोटरसाइकल तथा जिप जस्ता साना सवारी साधनका लागि गार्माको माथिल्लो सडक वैकल्पिक सडक भए पनि ठूला सवारी साधन भने केही समयका लागि बन्द हुने मेयर शेर्पाको भनाइ छ। यसैबीच साल्मे सडक खण्डको सिस्नेरी भीरमा प्रत्येक राति पर्ने वर्षाका कारण दिनहुँजसो पहिरो जान थालेपछि बिहान स्काभेटरको सहायताले सडक खुलाउने काम भइरहेको बताइएको छ।

अघिल्ला वर्षमा पनि धेरै लगानी गरेर बनाइएको पहिरो मर्मतले यस वर्ष फेरि दुःख दिन थालेपछि बिहानको यात्रा प्रभावित बनेको छ। राति पर्ने पानीले लेदो सहितको पहिरो सडकमा खसेपछि बिहान आवतजावतमा समस्या हुनेगरेको यातायात व्यवसायी बताउँछन्। त्यस पहिरोको दिगो समाधान गर्न ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.