एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतद्वारा विश्व समुदायलाई जानकारी

| 2023 Aug 27 | 06:16 pm 1405

भ्यानकुभर, क्यानाडा, भदाै १० । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् ।  विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गराएका हुन् ।

उहाँले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए ।  साथै उहाँले यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभै विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको उल्लेख गरे ।  यी प्रयासका बाबजुत नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्ठि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको बताए ।

नेपालको तापक्रम सन् २०३० सम्ममा 0.५ देखि २.0 डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्व अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए ।  अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे ।  उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखेका थिए ।

जलवायू परिवर्तन जोखिम उच्च भएका देशहरुको समेत प्रतिनिधित्व गर्दै मन्त्री महतले लगानी आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हाँसिल हुन समेत नसक्ने बताएका थिए ।

मन्त्री महत विश्व वातावरण सुविधाको ७ औं एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।  एस्म्वलीको बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा उनी  उपाध्यक्षमा निर्वाचित भएका हुन् ।  मन्त्री महतले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका थिए ।

यसैगरी मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्धन्द्धका कारण प्रभावित समुदायहरूको लागि जोखिम बिमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गरेका थिए । यसैगरी नेपाललाई सीप तथा क्षमता विकास एवं हरित पूर्वाधार निर्माणमा थप बित्तीय स्रोतको आवश्यकता रहेको बताए ।  वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकरात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।

सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनको समापन समारोहमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडाउले बिशेष सम्बाेधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.