त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, २० घाइतेको उद्धार

| 2023 Aug 23 | 12:43 pm 2429

काठमाडौं, भदाै ५ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान १०ः४० बजे त्रिशुली नदीमा खसेको हो।

बसमा सवार १५ बढी घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए। बसमा सवार यात्रुबारे हालसम्म यकिन जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। दुर्घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएको छ।

यात्रुवाहक बस नदीमा खस्दा कम्तीमा ८ जनाको शव बाहिर निकालिएको गजुरी गाउँपालिका–२ का वडाध्यक्ष दोण कँडेलले जानकारी दिए। बसमा सवार २० जना जति घाइतेलाई अस्पताल पठाइएको पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.