– भोजराज पाण्डेय
समाजमा मानिसको लागि आफ्नो मुल्य अन्य बस्तुको तुलनामा नगन्य बनेको छ । आफ्नो तथा परिवारको जीबिकोपार्जनको लागि बैदेशिक रोजगारीको कारण पनि लामो समय सम्म पारिवारिक मिलन नहुदा परिवारकै सदस्यहरु बीचमा आपसी सद्भाव, माया ममता र अपरिहार्यता हराउंदै गएको छ । मानिसको पहिचान केबल पैशा संग मात्र तुलना हुन थालेको छ । बैदेशिक रोजगार मानिसको लागि अपरिहार्यता वा अनिवार्य आवश्यकता बनेको छ । किनभने देखासिकी र बिदेशमा गए पछि सहज तरिकाले पैसा आर्जन गर्न सकिन्छ भन्ने भाष्य स्थापित हुनु र स्वदेशमा अनेकन सम्भावना हुंदाहुंदै बैदेशिक रोजगार बाहेक अरु बिकल्प नदेख्ने परिपाटीले हाम्रो सामाजिक संरचना नराम्रो गरि खल्बलिएको छ ।
अस्ति मात्रै एक जना मित्र कार्यालयमा आउँदा गुनासो गर्दै थिए, “सर ! बिदेश नजाउ श्रीमती पाल्न गार्हो, बिदेश जाउँ श्रीमती जोगाउन गार्हो” सामाजिक सञ्जालको सर्वसुलभ पहुंचको कारण पनि यो समस्या अहिले हरेक परिवारको टाउको दुखाई बनेको छ । परिवार पाल्ने चाहाना र बाध्यताले बैदेशिक रोजगारीमा जांदा घर परिवारबाट अवश्य पनि टाढा रहनु पर्ने हुन्छ । रातदिन केबल घर परिवार र परिबारका सदस्यहरुको लालनपालनको गर्जो टार्ने र सकेसम्म धन सम्पत्ति आर्जन गर्ने महत्वकाक्षां सहित कठिन मेहनत गरेर घरमा फर्किदा धेरैको सपना भताभुङ्ग भएको छ । एयरपोर्टमा श्रीमान लिन जान्छु भनि हिडेका कतिपयका जीवनसंगिनी बीच बाटो बाटै श्रीमानले बिदेशबाट पठाएको पैसाको पोको बोकेर आफूले जन्माएका बालबच्चाहरु समेत घरमा छोडी अर्कैसँग कुलेलाम ठोकेर परिवारको बिचल्ली पारेका घटनाहरु छन । पुरुष अथक मेहनत गरि बैदेशिक रोजगारीबाट घरमा फर्कदा न परिवार घरमा हुन्छ ? न आफूले आर्जन गरि पठाएको धन सम्पत्ति नै ? यसले गर्दा पारिबारिक बिचलन आई बिबिध प्रकृतिका सामाजिक अपराधका घटनाहरु समेत हुने गरेका छन् ।
हाम्रो समाजले अहिले हरेक घटनाहरुलाई सामान्य रुपमा लिन थालेको अवस्था छ । पहिले एक जना मानिसको मृत्युमा रेडियो तथा पत्रपत्रिकामा बनेको समाचारले धेरैका कान ठाडा बनाउथ्यो । अहिले अवस्था फेरिएको छ । बाटोमा बेवारिसे अवस्थामा मृत्यु भएको मानिसको पहिचान खुलाउन महिनौं लाग्दछ । मानिसले मानिसको सोधखोज गर्न छोडेको जस्तो देखिन्छ । किनभने मानिसको महत्व घट्दै गईरहेको आभाष भईरहेको छ । परिवारका सदस्यहरु बीचमा नै एक अर्काको लागि बोझ बन्दै गईरहेको अनुभूति पछिल्ला घटनाहरुले देखाउँदै गएको छ । मानिसले प्राण त्याग गर्ने कुरालाई सामान्य र हल्का रुपमा लिन थालेको कारण यस्ता घटनाहरु दैनिक रुपमा पुनरावृति हुन थालेका छन । जीवन कति मुल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्या लगायतका सामाजिक घटनाहरु हुने गरेका छन । सामान्य बिषयमा आफ्नो भावाबेषलाई नियन्त्रण गर्न नसक्दा यस्ता प्रकृतिका घटनाहरु दिनानुदिन बढ्दै गईरहेका छन । नेपाल लगायत बिश्वका हरेक देशमा अहिले सबैभन्दा डरलाग्दो समस्याको रुपमा रहेको आत्महत्याको बिषयलाई लिएर आज सबै देशहरु चिन्तित बनेका छन ।
मानिसको मस्तिष्कमा सकारात्मक र नकारात्मक दुबै सोच रहेको हुन्छ । सकारात्मक सोचमा परिवर्तन आई कुनै परिवेश,घटना बिशेषलाई लिई त्यही बिषयमा निरन्तर मानसिक उल्झन गरि उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण अथवा अब यो समस्यालाई म कुनै पनि हालतमा समाधान गर्न सक्दिन भन्ने नकारात्मक र निरासाबादी सोच मनमा हावि भई सो को कारण आफ्नो जीवन प्रति नै अत्यन्त घृणा भाव महशुस गरि अस्वभाविक रुपमा मृत्यु वरण गर्नुलाई आत्महत्या भनिन्छ ।
मानिसले समस्यालाई २ प्रकारले लिएको हुन्छ । एउटा सरल र अर्को कठिन । सरल समस्यालाई उसले आफ्ना साथिभाई र साथीहरुसँग सेयर पनि गर्दछ र त्यसको तत्काल समाधान पनि हुन्छ । किनभने समस्यालाई सेयर गर्दा सहज तरिकाले त्यसको समाधान निकाल्न सकिन्छ । तर कठिन समस्यालाई उसले आफन्तजन तथा साथीहरुलाई सेयर गर्दैन । किनकी उसले पहिले नै कल्पना गरि सकेको हुन्छ की यो समाधान हुदैन । जुन सेयर गरेमा समाजमा उसको बेइज्यती हुने वा अपगाल आउने हुन सक्छ भन्ने उसलाई लागिरहेको हुन्छ । समस्या समाधान हुन नसकेको कारण मन अशान्त हुन्छ र भित्रभित्रै नैराश्यताले उसमा जरा गाड्न थाल्छ । अन्ततोगत्वा उसले उक्त समस्याको समाधान केबल मृत्यु नै हो भन्ने ठान्छ र सहजै मृत्युवरण गर्दछ ।
यसै तथ्यलाई मनन गरि नेपाल सरकारले मुलुकी अपराध (संहिता) ऐन २०७४ मा आत्महत्या सम्बन्धी बिषयलाई पहिलो पटक कानूनी दायरामा ल्याएको छ । उक्त ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन भन्ने उल्लेख छ । उक्त ऐनको दफा १८५ बिरुद्ध कसूर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र पचास हजार रुपैयासम्म जरिवाना हुनेछ भन्ने उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष बिश्वभर करिब आठ लाख मानिसहरुले आत्महत्या गरि मर्ने गर्दछन् । हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्दछ भने प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्याको कारण मृत्यु हुने गर्दछ । विश्वभरमा हुने गरेका आत्महत्याका घटनाहरुलाई हेर्ने हो भने प्राय: पुरुषहरुको तुलनामा महिलाहरुले बढी आत्महत्या गर्दछन । तर नेपालको सन्दर्भमा महिला भन्दा पुरुषहरुले बढि आत्महत्या गरेको तथ्याङकले देखाउँछ । आत्महत्याको दर गृहणी, बिधार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ । आत्महत्या गर्नेमा बिश्वमा रहेका देशहरुको तुलनामा नेपाल तेर्हौ स्थानमा रहेको छ । प्राय गरेर १५ बर्ष देखि ४५ बर्षको उमेरकाहरुले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसमा पनि खास गरि सहारा बिहिन, निको नहुने रोगले ग्रसित र पीडादायी रोगको बिरामी (६० बर्ष देखि माथि) भएकाहरुले पनि पीडासँग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ ।
नवलपरासी (ब.सु.प.) जिल्लामा पनि आत्महत्या लगायतका सामाजिक अपराधहरुको तथ्याङ्क डरलाग्दो छ । आत्महत्याको अवस्थालाई हेर्दा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । नवलपरासी जिल्लाको आत्महत्याको पछिल्लो त्रिबर्षीय तथ्याङ्कलाई बिश्लेषण गर्दा यहाँ आर्थिक बर्ष ०७७/७८ मा ७४ जना पुरुषले आत्महत्या गरेका छन भने ३९ जना महिलाहरु आत्महत्याको शिकार भएका छन् । त्यसमा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क बढी छ । उक्त आ.ब. मा आत्महत्याको कारण मृत्यु भएका ११३ जना मध्ये ५१ जना पुरुष र २५ जना महिला गरि जम्मा ७६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने बिष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यसपछि रहेको छ । झुण्डिएर आत्महत्या गर्दा धेरैले आफूले ओढ्ने सल, पछ्यौरी वा नाइलनको मसिनो डोरीको पासो लगाई झुण्डिने गरेको घटनाको अनुसन्धानले देखाएको छ । बिष सेवन गरि आत्महत्या गर्नेमा २० जना पुरुष र १३ जना महिला गरि जम्मा ३३ जना रहेका छन । बिष सेवन गरि आत्महत्या गर्दा धेरैले खेतबारीमा किरा मार्न प्रयोग हुने बिषादीको बढी प्रयोग गर्ने गरेको अनुसन्धान बाट खुलेको छ ।
त्यसै गरि आर्थिक बर्ष ०७८/७९ मा ७२ जना पुरुष र २९ जना महिलाहरु गरि जम्मा १०१ जनाले आत्महत्या गरेका छन । यस आ.ब. मा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कनै बढी छ । जसमा आत्मत्याको कारण मृत्यु भएका १०१ जनामध्ये ५६ जना पुरुष र २० जना महिला गरि जम्मा ७६ जना छन् । अघिल्लो आ.ब. को तुलनामा यस आ.ब. मा पुरुष आत्महत्या गर्ने संख्या ५ जनाले बढेको छ भने महिला आत्महत्या गर्नेमा ५ जना कमी छ । यास आ.ब. मा पनि बिष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यस पछि रहेको छ । बिष सेवन गरि आत्महत्या गर्नेमा १४ जना पुरुष र ७ जना महिला गरि जम्मा २१ जना रहेका छन । बिष सेवन गरि आत्महत्या गर्दा यस आ.ब. मा पनि खेतबारीमा किरा मार्न प्रयोग हुने बिषादीको नै बढी प्रयोग भएको पाइएको छ ।
त्यसै गरि आर्थिक बर्ष ०७९/८० मा ४९ जना पुरुष र ३७ जना महिलाहरु गरि जम्मा ८६ जनाले आत्महत्या गरेका छन । यस आ.ब. मा पनि झुण्डिएर आत्महत्या गर्ने नै बढी छन । जसमा आत्मत्याको कारण मृत्यु भएका ८६ जना मध्ये ३१ जना पुरुष र २९ जना महिला गरि जम्मा ६० जनाले झुण्डिएर आत्महत्या गरेका थिए । अघिल्लो आ.ब. को तुलनामा यस आ.ब. मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । यस आ.ब. मा डुबेर आत्महत्या गर्नेको संख्या त्यसपछि रहेको छ । जसमा ११ जना पुरुष र ३ जना महिला गरि जम्मा १४ जनाले पानीमा डुबेर वा हाम फालेर मृत्युवरण गरेका थिए ।
आत्महत्याको यो अबस्थालाई बिश्लेषण गर्दा बिगतका बर्षहरु भन्दा तुलनात्मक रुपले संख्या घट्दै गैरहेको देखिन्छ । आत्महत्याको दर घट्नुमा बिबिध कारणहरु हुन सक्छन । नेपाल सरकारका सरोकारवाला निकायहरु प्रहरी र स्थानीय तह तथा विभिन्न सरकारी, अर्ध सरकारी र गैर सरकारी संघ संस्थाहरुले यसको न्यूनीकरणको लागि सचेतनामुलक तथा घर दैलो लगायतका कार्यक्रमहरु गरेको कारण पनि यसको दर घट्नुमा टेवा पुगेको हुन सक्छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले समाजमा आत्महत्या लगायतका बिभिन्न सामाजिक अपराध रोकथाम तथा न्यूनीकरणको लागि स्थानीय तहसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आ.ब. ०७७/७८ मा यस कार्यालयले सम्पन्न गरेका समुदाय लक्षित २२४ वटा सचेतनामुलक कार्यक्रमहरु मध्ये १४ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरु संचालन गरेको थियो भने आ.ब. ०७८/७९ मा ३५१ वटा सचेतनामुलक कार्यक्रमहरु मध्ये २५ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरु संचालन गरेको थियो । त्यसैगरि आ.ब. ०७९/८० मा सम्पन्न गरेका ४९७ वटा समुदाय तथा विद्यालय लक्षित सचेतनामुलक कार्यक्रमहरु मध्ये ३४ वटा आत्महत्या न्यूनीकरणमा कार्यक्रमहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले संचालन गरेका समुदाय तथा विद्यालय लक्षित आत्महत्या न्यूनीकरणका सचेतनामुलक कार्यक्रमहरुको कारण पनि केहि हद सम्म यसको दर घट्नुमा भूमिका निर्वाह भएको हुन सक्छ भन्ने कुरा यस तथ्याङ्कले देखाएको छ ।
समाजमा अपराध न्यूनीकरणको लागि प्रहरी कार्यालयको अलावा अन्य निकायहरुले संचालन गर्ने सचेतनामुलक कार्यक्रमहरुको भूमिका पनि कम महत्वपूर्ण छैन । तथापि प्रहरीको बर्दी सहित संचालन गरिने सचेतनामुलक कार्यक्रमहरुमा सहभागिहरुको आकर्षण र लगाव उत्साहबर्धक हुने गरेको छ । प्रशिक्षणमा सहभागिता जनाउनु र सहभागिता सहित सुन्नुमा धरै फरक छ । कार्यक्रमको लागि मात्र कार्यक्रमले परिणाम दिन सक्दैन । तर प्रभावकारिता सहितको कार्यक्रमले परिणाम पनि दिन्छ जुन जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । यस आर्थिक बर्षमा पनि यहि तथ्यलाई मनन गरि विद्यालय र समुदायको अलावा टोलटोलमा यसलाई बिस्तार गरि सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरि योजना बनेको छ ।
आत्महत्याको दरलाई शुन्यमा झार्न कदापि सम्भव छैन् । तर सबैले प्रयास गरेमा न्यूनीकरण गर्न सकिन्छ । ब्यक्तिगत, पारिवारिक, आर्थिक,सामाजिक र मनोवृतिगत कारणहरुले गर्दा मानिसहरुले आत्महत्या गर्ने गर्दछन् । तर पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरि बिचार संप्रेषण गर्दा निस्कने प्रतिकृयाको कारण पनि धेरैले मृत्यु रोजेका छन् । ठुला र उमेर पुगेका परिपक्व मानिस भन्दा पनि साना बालबालिकामा सानै देखि नै मोवाइलको लतले गर्दा शरीरको क्रमिक बिकाससँगै नकारात्मक धारणाको विकास भई क्षणिक आबेगमा जीवन उत्सर्ग गर्ने निर्णय गर्दा यस्ता घटनाहरु घट्ने गरेका छन् । जसको निदान वा भरपर्दो उपाय भनेको नै मानसिक परामर्श सहितको सचेतना नै हो ।
(लेखक जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक हुन्)