काठमाडाैं, भदाै ३ । भारतबाट भन्सार छलि गरेर ल्याएको भित्री बस्त्र कट्टु २ हजार ४ सय थान सहित अनुप पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी निमित्त प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहोराका अनुसार काठमाडाैं महानगरपालिका २ बस्ने २२ वर्षीय पन्तले चलाएको बा ७ च १५२३ नम्बरको निसान कम्पनीको गाडी सहित नियन्त्रणमा लिइएको हाे ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक लक्षमण ओलीको कमाण्डमा गएको टोलीले महाराजगंज नगरपालिका छ कन्चनियाबाट सामान र गाडी सहित पन्तलाई नियन्त्रणमा लिइएको हो ।
भारतबाट भन्सार छली गरेर नेपाल भित्राई काठमाडाैंतर्फ लैजादै गरेको सूचना प्राप्त हुना साथ ओलीको टोली गाडीलाई पछ्याउन गएको थियो । भित्री बस्त्र करिब ३ लाख ६० हजार मुल्य बराबरको छ भने गाडीको पन्ध्र लाख मूल्य पर्ने निमित्त प्रमुख बोहोराले जनाएकी छन् ।