सर्लाही, साउन ३२ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ३१ साउनको बुधबार ४० जना प्रहरी कर्मचारीको आन्तरीक सरुवा गरेको छ ।
हरेक चाैकी थानाको समय अवधि पुगेपछि सरुवा हुने कुरा स्वभाविक भए पनि बुधबार गरिएको सरुवामा प्रशासन हेर्ने इन्स्पेक्टर सुमित कुसवाह र एसपीको घुमुवा वरिष्ठ सई अरुण राय मिलेर पैसा उठाएको आरोप त्यही कार्यरत प्रहरीले लगाएका छन् । एसपी नरेशराज सुवेदी र डिएसपी कैलाश राइको सोझोपन र इमान्दारीताको फाइदा उठाउदै उनीहरुको नाम बेचेर प्रति व्यक्ति ५ देखि १० हजार उठाइएको समाचार स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएका इन्स्पेक्टर सुमित कुसवाहले जातियता पनि हेरेको बताइन्छ ।
कम्तिमा दश जना कुसवाह थर गरेका कर्मचारीलाई राम्रो ठाँउमा पठाएको र कार्यरतलाई नचलाएको पनि बताइन्छ । असई इन्चार्ज जाने चाैकीमा आज विहिवार सरुवाको तयारी हुदैछ । त्यसका लागि पनि इन्स्पेक्टर कुसवाह र एसपीका घुमुवा वरिष्ठ सई अरुण रायले मोल मोलाई गरेको समाचार स्रोत बताउँछ ।