महिलालाई छिटो बोसो लाग्छ

रिपोर्ट नेपाल | 2023 Aug 16 | 07:57 am 2457

पुरुषको दाँजोमा महिलाको शरीरमा चाँडै बोसो लाग्छ। मुसामा गरिएको एक अनुसन्धानले यससम्बन्धी निष्कर्ष दिएको छ। डायबिटिज जर्नलमा प्रकाशित रिसर्चमा उल्लेख गरिए अनुसार उच्च मात्रामा चिल्लो पदार्थ भएको आहाराले पोथी मुसामा रासायनिक प्रतिक्रिया भई पेटमा सजिलै बोसो लागेको थियो।

पेटमा लाग्ने खालको बोसो आन्तरिक अङ्गहरू वरिपरि पनि सञ्चय भएर क्यान्सर, मुटु रोग, मधुमेह आदिको खतरा बढ्छ। शरीरमा एन्जाइमहरूको कैयौँ भूमिका हुन्छ। त्यसमध्ये एक एन्जाइमले पेटमा बोसोका कोष सिर्जना गर्ने हर्मोनको उत्पादन उत्प्रेरित गर्छ। त्यस हर्मोनको मुख्य स्रोत हुन्छ– भिटामिन ए।

पुरुष र महिलाले उच्च मात्रामा चिल्लो पदार्थ खाएमा महिलाको शरीरमा हर्मोनको स्तर तुलनात्मक रूपमा अधिक पाइएको छ। अनुसन्धान टोलीले पोथी मुसाको शरीरमा वंशाणु परिवर्तन गरी एन्जाइम उत्पादन नहुने बनाएपछि पोथी मुसा धेरै चिल्लो खाए पनि दुब्लो नै रहेको थियो। अनुसन्धान टोलीले पोथी मुसामा बोसो सञ्चयमा भूमिका खेल्ने एन्जाइम एल्डेहाइड डिहाइड्रजेनेज भएको स्पष्ट पारेको छ। मान्छेको बोसोको परीक्षण गर्दा अनुसन्धान टोलीले यो एन्जाइम महिलाको बोसोमा अधिक पाएको थियो।

– युवामञ्चबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.