आज साँझसम्म कक्षा १२ को नतिजा प्रकाशित हुने

| 2023 Aug 15 | 01:47 pm 2641

काठमाडौं, साउन ३० । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको यस वर्षको कक्षा १२ को  नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

बोर्डका अनुसार प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ जनाएको छ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, “बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम चरणको रुजु गर्ने काम भइरहेको छ ।”

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

नतिजा हेर्नका लागि तल दिइएका वेवसाइटमा जानुहाेला

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट हेर्न सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.